सेक्स टेप काण्डपछि राजीनामा दिए यी मन्त्रीले

भारत कर्नाटक राज्यका जल संशाधनमन्त्रीले सेक्स टेप काण्डपछि राजीनामा दिएका छन्। मन्त्री रमेश जारकिहोलीले एक महिलासँग यौन कार्य गरिरहेको छोटो भिडियो सार्वजनिक भएको हल्ला चलेपछि उनले राजीनामा दिएका हुन्।

सामाजिक अभियन्ता दिनेश कल्लाहल्लीले रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकिहोलीले एक महिलाको यौन शोषण गरेको आरोप लगाएका छन्। सामाजिक कार्यकर्ता तथा नागरिक हक्कु होरता समितिका अध्यक्ष कल्लाहल्लीले ती महिलाको परिवारका सदस्य न्याय माग गर्न आफूकहाँ आएको बताएका छन्।



कल्लाहल्लीका अनुसार उनीहरूको आरोप छ,‘मन्त्री रमेशले कर्नाटक पावर ट्रान्समिसन कर्पोरेसन लिमिटेड केपीटीसीएलमा रोजगारी मिलाइदिने नाममा यौन शोषण गरे। तर पछि कुरा फेरे।’ राजीनामा दिँदै रमेश जारकिहोलीले आफूविरुद्ध राजनीतिक षडयन्त्र भएको बताएका छन्।

उनले दिएको राजीनामालाई कर्नाटकका मुख्यमन्त्री बीएस यदीयुराप्पाले स्वीकृत गरेका छन्। जारकिहोलीले विपक्षी दलले आफूविरुद्ध राजनीतिक षडयन्त्र गरेको दाबी गरेका छन्। उनले सार्वजनिक भएको भनिएको सेक्सटेप बनावटी भएको पनि दाबी गरेका छन्।

सम्बन्धित समाचार