नवकान्तिपुर संवाददाता
काठमाडौं, २० फागुन ।
नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले प्रधानमन्त्री केपी ओलीलाई नेपाली कांग्रेसले समर्थन गर्ने अवस्था नरहेको बताएका छन् । नवकान्तिपुर डटकमसँगको कुराकानीमा उनले ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेकोले र सर्वोच्चको आदेशपछि पनि प्रधानमन्त्री पदबाट राजीनामा दिएर नैतिकता देखाउन नसकेकोले उनीसँग सहकार्यको कुनै सम्भावना नरहेको बताएका हुन् । ओलीसँग सहकार्य गरेमा कांग्रेसलाई पनि प्रतिगामीको आरोप लाग्ने उनको भनाई थियो ।
साथैै नेता केसीले संसद्मा पेश हुने भनिएको प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस तटस्थ बस्नुपर्ने बताए । नेकपा आधिकारिक रूपमा फुटिनसकेकोले कुनै समूहलाई कांग्रेसले समर्थन नगर्ने उनले बताए । कांग्रेस तटस्थ बस्दा जारी राजनीतिक गतिरोधले निकास नपाउने भयो नि ? भन्ने प्रश्नमा उनले कांग्रेस तटस्थ बस्दा अविश्वासको प्रस्ताव पारित नहुने मात्र होइन प्रधानमन्त्रीले पनि बहुमत जुटाउने अवस्था नहुने उनले बताए । बहुमत जुटाउन नसकेपछि ओली राजीनामा गर्न बाध्य हुने उनको भनाइ छ । संसद्मा १३८ संसदको समर्थन नभएको पुष्टि भएपछि त ओली प्रधानमन्त्री जस्तो गरिमामय पदमा बस्नै नमिल्ने उनको भनाइ छ । त्यसपछि बहुमत समर्थनप्राप्त प्रधानमन्त्रीको खोजी हुने केसीले बताए ।
देश प्रधानमन्त्रीविहीन भएको अवस्थामा र कांग्रेसले समर्थन नगरि प्रधानमन्त्री नचुनिने अवस्था आएमा भने कांग्रेसले देशलाई अन्यौलता र रिक्ततामा राख्न नहुने केसीले बताए । त्यो अवस्थामा कांग्रेसले नै नेतृत्व गर्न पनि सक्ने उनको भनाइ थियो । साथै उनले नेकपालाई फुटेरभन्दा पनि जुटेरै जारी राजनीतिक गतिरोधको अन्त्य गर्न सुझाव दिए । त्यो अवस्थामा कांग्रेस प्रतिपक्षमै रहन तयार रहेको उनको भनाइ थियो ।
साथै केसीले अब जिल्ला सभापतिमा आफू नउठ्ने घोषणा पनि गरेका छन् । उनले अब प्रदेश सभापतिमा उठ्ने आफ्नो चाहना रहेको बताए । कोही आफूभन्दा वरिष्ठ नेता प्रदेशसभापतिमा आएमा र सहमतिमा सहयोग गर्नुपर्ने अवस्था आएमा कांग्रेस केन्द्रीय सदस्यमा आफू उम्मेद्वार बन्ने केसीले बताए ।
केसीले नेपाली कांग्रेस एकजुट भएर निर्वाचनमा जान सके नेपालका कुनै पनि पार्टीले प्रतिस्पर्धा गर्न नसक्ने बताए । अघिल्लो निर्वाचनमा एमाले र माओवादीबीच एकता भएर नभई आन्तरिक एकता कायम गर्न नसक्दा कांग्रेसले हारेको केसीको भनाई थियो ।
अन्तर्वार्ताको पूरा अंश भिडियोमा–