क्लासमा टीचरले हप्काएपछि बाटोमा ढुकेर गोली प्रहार

भारतको गाजियाबादमा रहेको मुरादनगरमा एक निजी विद्यालयमा शनिवार शिक्षकमाथि गोली प्रहार गरिएको छ । कक्षा १२ चलिरहँदा एक विद्यार्थीले अन्य विद्यार्थीमाथि दुर्व्यवहार गरेपछि शिक्षकले हप्काएका थिए ।

हप्काइ खाएका विद्यार्थीले आफ्ना दुई साथीहरूसँग मिलेर सचिन त्यागी नामक शिक्षकलाई कृष्ण विद्या निकेतन विद्यालयको गेट नजिक ढुकेर बसेका थिए । कक्षा सकिएर त्यागी विद्यालयबाहिर मोटरसाइकलमा निस्कँदा विद्यार्थीले गोली प्रहार गरेका थिए । सीसीटीभी फूटेज हेर्दा त्यागीलाई अलिकतिले गर्दा गोली नलागेको देखिन्छ ।



‘आरोपित विद्यार्थी र उनका दुई साथीहरू गेटभन्दा १५० मिटर पर बसेका थिए । उनीहरूले शिक्षकको बाइक रोके र गोली प्रहार गरे,’ एसपी इराज राजाले बताए । गोली प्रहार गरेपछि तीनै विद्यार्थी स्कूटर छोडेर त्यहाँबाट भागे ।

त्यागीलाई गोली लागेन अनि विद्यार्थीहरू भागेपछि उनी बाइक लिएर घर गए । घटनाको एक घन्टापछि प्रहरी कार्यालय पुगेका त्यागीले आफूलाई गोली लागेको भनी दाहिने हातको घाउ देखाए । उनले विद्यार्थी तथा उनका साथीहरूका विरुद्ध ज्यान मार्ने प्रयासको उजुरी दिएका छन् ।

प्रहरीले उजुरी दर्ता गरेको छ । एसपी इराज राजाले शिक्षकलाई गोली नलागेको सीसीटीभी फूटेजबाट देखिने र चोटको निशान उनी आफैंले बनाएको हुन सक्ने बताए ।

सम्बन्धित समाचार