
नेकपा एमालेको माधव नेपाल नेतृत्वको समूह भोलि शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका ती दुवै बैठकमा वरिष्ठ नेता नेपाल तथा झलनाथ खनाल नेतृत्वको समूह सहभागी नहुने निर्णय गरेको हो।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको आज बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएको ठहर गर्दै त्यसमा सहभागी नहुने निर्णय गरेको छ।
‘बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने,’ निर्णयमा भनिएको छ, ‘केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने।’
उनीहरुले नेकपा–एमालेका सबै सांगठनिक संरचना र पार्टीका निर्णयहरुलाई २०७५ जेठ २ गतेका अवस्थाबाट सुरुवात नगरेसम्म ओलीले आयोजना गर्ने बैठकमा सहभागी नहुने बताउँदै आएका छन्।
सो पक्षका नेताहरुले संसदीय बोर्डमा पनि सहभागी नहुने बताएका छन्। ओलीले विहीबार संसदीय बोर्डको गठन गरी नेपाल र खनाल दुवैलाई सो बोर्डको सदस्यको रुपमा मनोनयन गरेका थिए। तर उनीहरु सो बोर्डमा पनि सम्मिलित नहुने बताएका छन्।

