पहिलो चलचित्रमा अनुबन्धित हुँदा बाटोमैं सम्झौतापत्र तीनपल्ट हेरेको थिएँ : पुष्प खड्का, अभिनेता

नेपाली चलचित्र ‘दर्पण छायाँ-२’ बाट नेपाली चलचित्र क्षेत्रमा मुख्य नायकको रूपमा भित्रिएका अभिनेत पुष्प खड्का अहिलेका व्यस्त कलाकारमा पर्दछन् । उनले चलचित्र मंगलम्बाट राष्ट्रिय चलचित्र अवार्डसमेत पाएका थिए । उनी अभिनित चलचित्र ‘कृष्ण लीला’ र ‘मनसँग मन’ चैत्र २७ गतबाट प्रदर्शनमा आउँदैछन् भने चलचित्र ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको लागि तयार छ । म्युजिक भिडियोमा पनि निकै रूचाइएका उनै अभिनेता पुष्प खड्कासँग समसामायिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

चैत २७ मा ३ चलचित्र रिलिज हुँदैछन् र तीमध्ये तपाई अभिनित २ चलचित्र पनि छन् । यो अवस्था किन आयो ?
चलचित्र जुध्नु आफैंमा नराम्रो हो । त्यसमाथि एउटै कलाकारको चलचित्र जुध्नु त झनै नराम्रो हो । प्रमोशनदेखि दर्शकसम्म जान पनि समस्या हुन्छ । आफ्ना शुभेच्छुकलाई पनि कुन चलचित्र हेर भन्ने ? दुबै चलचित्र हेरिदिनुस् भन्न पनि अफ्ठ्यारो, यो चाहिँ हेरिदिनुस् भन्न पनि अफ्ठ्यारो । मैले त यो अवस्था नआओस् भनेर प्रयास पनि गरेँ तर त्यो सफल भएन । सायद मेरा दुबै चलचित्रका निर्मात बलिया पर्नुभयो र जुध्न चाहनुभयो होला ।



तपाई चलचित्रमै व्यस्थ हुँदाहुँदै पनि म्युजिक भिडियोहरूमा पनि निकै देखिनुहुन्छ । पैसाकै लागि धेरै भिडियो खेलेको भन्ने आरोप लाग्ने गर्छ नि !
पैसाकै लागि त होइन । चलचित्र होस् या म्युजिक भिडियो या विज्ञापनहरू नै किन नहोस्, कर्म गरेपछि फलको कुरा त आउँछ नै । एसलाई व्यवसायिक हिसाबले लिइनु पर्छ । तर पनि म्युजिक भिडियो मेरो सुरुवाती दिनदेखि नै गर्दै आएको व्याकग्राउण्ड हो । मलाई जन्माएको म्युजिक भिडियोले नै हो । अहिले आएर चलचित्र खेल्न थालेको छु । त्यसैले पनि म्युजिक भिडियो मेरो लागि आमा समान हो । बिहेचाहिँ चलचित्रसँग हुन गयो भनौं न ! त्यसैले पनि श्रीमती पाएपछि आमालाई माया गर्न छोड्न त भएन नि । त्यस हिसाबले पनि म्युजिक भिडियोलाई पनि निरन्तरता दिएको हुँ ।

बिहेकै कुरा उठाउनुभयो । रियल लाइफमा बिहेको कुनै योजना बनेको छैन ?
तत्काललाई बिहेको कुनै तयारी गरेको छैन । करियर भर्खरै सुरुवात हुँदैछ । केही समय चलचित्र क्षेत्रमा नै फोकस हुनेछु ।

पहिले पैसा कमाउँ, अनि बिहेको बारेमा सोचौंला भन्न खोज्नुभएको ?
पैसा कमाउने प्रयास त हुन्छ नै । तर पैसाकै लागि मात्र पनि यो क्षेत्रमा आएको होइन ।

तपाई त एउटा म्युजिक भिडियो खेलेकै डेढ लाख लिनुहुन्छ अरे ?
डेढ लाख धेरै हो त ?

थोरै हो त डेड लाख भनेको ?
एउटा भिडियोलाई मात्र हेर्दा त्यो धेरैजस्तो लाग्ला तर एउटा कलाकारले डेड लाख पारिश्रमिक लिनु नै धेरै हो जस्तो लाग्दैन मलाई । साथै कलाकारले यति लियो उति लियो भनेर जुन किसिमले हल्ला फैलिन्छ, त्यसमा सत्यता पनि हुँदैन । पारिश्रमिक बड्नु राम्रो कुरा हो तर अधिकांश कामहरू सम्बन्धको आधारमा दुबै पक्षलाई मर्का नपर्ने गरी अगाडि बढ्ने गर्छन् । कतिपय गीत मनपर्छ । कतिपय ठाँउमा निर्माता निर्देशकहरू मन परेका हुन्छन् । वहाँहरूसँग काम गर्दा राम्रो आउटपुट आउँछ कि भन्ने आशाले पनि पारिश्रमिकमा सम्झौता गर्ने गरिन्छ । त्यसैले मैले मेरो रेट यति हो भन्ने गरेकै छैन ।

तपाईले डेढ लाख लिएर खेलेका म्युजिक भिडियोले लगानी उठाउन सक्छन् त ?
सबै कामलाई व्यवसायिक हिसाबले हेर्न हुँदैन । कुनै भिडियोले लगानी मात्र होइन २०-२५ गुण बढी कमाई पनि गर्छन् । कुनैले लगानी पनि उठाउँदैनन् । फेरि मलाई लिएर काम गर्ने सबैले लगानी उठाउन नै काम नगरेका पनि हुन्छन् । कतिपयले आफ्नो क्षमता देखाउँ भनेर पनि म्युजिक भिडियोमा लगानी गर्ने गर्नुहुन्छ ।

पहिलो चलचित्र दर्पण छायाँ-२ मा अनुबन्धित भएको क्षणलाई अहिले कसरी सम्झनुहुन्छ ?
त्यो दिन चलचित्र साइन गरेर मोटरसाइकलमा चक्रपथबाट घर जाँदै थिएँ, तीन ठाउँमा मोटरसाइकल रोक्दै त्यो सम्झैतापत्र हेरेको थिएँ । सम्झौतापत्र हेर्थें अनि मैले साच्चै चलचित्रमा साइन गरेँ है भन्दै मख्ख परेर खोल्तीमा राख्थे । चलचित्रमा अनुबन्धित भएँ है भनेर आफूलाई नै कन्भिन्स गर्न गाह्रो भएको थियो । त्यो खुसी एकदम मनको खुसी थियो ।

त्यसपछि सफलता चुम्दै जानुभयो, हैन त ?
विस्तारै । सफल भनेर एकदमै सफल भन्न त मिल्दैन । संधर्ष त जारी नै छ । जे जति काम पाइरहेको छु, त्यो एक किसिमको सफलता नै हो । सफलता त्यति सजिलै हात पार्न नसकिने रहेछ भन्ने अनुभव लिएको छु । सफल बन्नुभन्दा पनि कसैको इन्पिरेसन बन्नु ठूलो कुरा हो जस्तो लाग्छ ।

 

 

सम्बन्धित समाचार