नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् । अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका हुन् ।
बाइडेनले भने-‘आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गरे ।
बाइडेनले भने(‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै । तर कुनै अर्को देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’
अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई सङ्क्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार २४ जनाको ज्यान गएको छ ।
अहिलेसम्म सङ्क्रमणका कारण ५ लाख ५९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।