नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
ब्राजिलमा एकैदिन झण्डै एक लाख जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा ९७ हजार ५ सय ८६ जनालाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यसअघि विहीवार ९० हजार ५ सय ६४ जनालाई कोरोना भाइरसको संक्रमण भएको थियो ।
यस्तै, ब्राजिलमा गएको २४ घण्टामा २ हजार ६ सय ३९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित देशको सूचीको दोस्रो स्थानमा छ ।
अमेरिकापछि कोरोना संक्रमणको दर ब्राजिलमा सबैभन्दा धेरै छ । अहिलेसम्म ब्राजिलमा एक करोड ३२ लाखभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने तीन लाखभन्दा धेरैको ज्यान गएको छ ।