नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ चैत ।
विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रको खोजमूलक पत्रकारिता, पुस्तक लेखन तथा सम्पादन कार्यमा सक्रिय रहेका व्यक्तित्व लक्ष्मण अधिकारीको पहिलो साहित्यिक कृतिका रूपमा कथासङ्ग्रह ‘मर्फिन’ हालै बजारमा आएको छ ।
एक्काईसवटा कथाहरू सङ्ग्रहित यस कृतिका सबै कथाहरू स्वास्थ्य विषयसँग मात्रै सम्बन्धित छन् । सम्भवतः नेपाली कथा साहित्यमा एउटै विषयमाथि लेखिएको सिङ्गो सङ्ग्रह यो नै पहिलो हो । सबै कथाहरू डाक्टर, नर्स, अस्पताल, विरामी, औषधी लगायत त्यो क्षेत्र सम्बन्धी विषयका वरिपरि घुमेका छन् ।
कथाहरूमा स्वास्थ्य जगत्का विकृति, विसङ्गति, कमजोरी, बदमासी, दुर्बल तथा सवल पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । त्यसैले यी कथाहरू प्रत्येक बिरामीले, सम्भावित बिरामीले, प्रत्येक स्वास्थ्यकर्मीले, प्रत्येक स्वास्थ्य व्यवसायीले अर्थात् हरेक व्यक्तिले पढ्नैपर्ने खालका छन् । अनुसन्धानमूलक पत्रकारिता गरेका कथाकारले गहिरो अनुसन्धान गरेर नजिकबाट देखेका, भोगेका, तथ्यहरूमा आधारित रहेर लेखिएका यी कथाहरू स्वास्थ्य क्षेत्रका विविध विषयहरूलाई उद्घाटन गर्ने आधिकारिक कथाहरू भन्न सकिने प्रकाशन गृहले जनाएको छ ।
मर्फिन कथासङ्ग्रह मञ्जरी प्रकाशनले बजारमा ल्याइएको हो ।