नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ चैत ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाएका छन्। दिल्लीस्थित एम्स अस्पतालमा पुगेर मोदीले भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनको दोस्रो डोज लगाएको एएनआइले उल्लेख गरेको छ।
मोदीले मार्च १ मा कोभ्याक्सिनको पहिलो डोज लगाएका थिए। भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कोरोनाविरुद्ध भ्याक्सिन लगाउने अभियान जारी रहेपनि भ्याक्सिनको उत्पादन आवश्यकता अनुसार भइरहेको छैन।
गएको २४ घण्टामा १ लाख २६ हजारभन्दा धेरै संक्रमित थपिएसँगै सक्रिय संक्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेको वर्ल्डओमिटरले जनाएको छ । भारतमा गएको २४ घण्टामा ६ सय ८४ जनाको ज्यान गएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।