सरकारविरुद्ध उत्रिए यौनकर्मीहरु, कोरोना खोपको प्राथमिकतामा राख्न माग

विश्वभर कोरोना संक्रमण फेरि आक्रमक देखिएको छ । विश्वका कैयौं देशमा खोप अभियान पनि चलिरहेको छ । यही बीचमा यौनकर्मीहरु हडतालमा उत्रिएका छन् । उनीहरुले १ हप्ताको लागि काम बन्द गरेर धर्नामा बसेका छन् । उनीहरुले कोरोना भाइरस भ्याक्सिनको प्राथमिकता सूचीमा आफूहरुलाई पनि राख्न माग गरेका छन् ।

कोरोना भ्याक्सिन दिने क्रममा कैयौं देशहरुले प्राथमिकता तय गरेका छन् । यही आधारमा भ्याक्सिन दिने क्रम चलिरहेको छ । समाचार एजेन्सी एएफपीको एक रिपोर्टअनुसार ब्राजिलको दक्षिणपूर्वी सहर बेलो होरिजोन्टेमा यौनकर्मीहरु एक हप्ताको धर्नामा बसेका छन् । यी यौनकर्मीले कोरोना भाइरस खोपको प्राथमिकता सूचीमा आफूहरुलाई पनि सहभागी गराउन माग गरेका छन् ।



रिपोर्टका अनुसार बेलो होरिजान्टे सहरमा कोरोनाभाइरस महामारीका कारण होटलहरु बन्द गरिएका थिए । होटल बन्द भएपछि यी यौनकर्मीले भाडामा कोठा लिनु परेको थियो । मिनास ग्यारेस राज्य संघकी अध्यक्ष सिडा भिएराले भनिन् ‘फ्रन्टलाइनमा हामी उभिएका छौं । हामी पनि फ्रन्टलाइन वर्कर हौं । हामीलाई पनि भ्याक्सिन आवश्यक छ ।’ भिएरा पनि आफ्ना साथी यौनकर्मीसँग धर्नामा बसेकी देखिएकी थिइन् ।

धर्नामा बसेकी अर्की एक यौनकर्मीले भनिन् ‘हामी पनि प्राथमिक समूहको एक हिस्सा हौं किनकि हामी हरेक दिन फरक फरक मानिसहरुसँग भेट्छौं र आफ्नो जीवनलाई जोखिममा पार्छौं ।’ अर्की एक यौनकर्मीले भनिन् ‘सरकारले पहिले नै स्वास्थ्य कर्मचारीहरु, अध्यापकहरु, वृद्धहरु र पहिलेदेखि बिरामीहरुलाई भ्याक्सिन लगाउने प्राथमिक समूहमा राखिसकेको छ । त्यसैले हाम्रो माग छ कि हामीलाई पनि प्राथमिकतामा समावेश गरियोस् ।’

सम्बन्धित समाचार