नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।
भारत यतिखेर कोरोना महामारीको दोस्रो लहरमा लपेटिएको छ। दिनहुँ झन्डै ढेडलाख संक्रमित थपिइरहेका छन्। पछिल्लो २४ घण्टाभित्र ७७३ जना संक्रमितको ज्यान गएको छ । संक्रमणको यो लहरले भारतका अधिकांश राज्यमा निकै तनावपूर्ण स्थिति निम्त्याएको छ। बीबीसी हिन्दीका अनुसार बिरामीहरूको उपचार गर्न आवश्यक स्रोतसाधन अभाव हुँदै गएको छ ।
कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरूको अन्तिम संस्कार गर्न अझै समस्या भइरहेको छ। उत्तर र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कार गर्न घन्टौं लाइन बस्नुपर्ने अवस्था छ। उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालको हालत दिन–प्रतिदिन चिन्ताजनक हुँदै गएको छ ।
भोपालका केही संगठनहरूले सन् १९८४ मा भएको ग्यास त्रासदीजस्तै स्थिति अहिले देखिएको बताएका छन्। भोपाल ग्यास त्रासदीमा ३७८७ जनाको मृत्यु भएको थियो भने ५ लाखभन्दा धेरै मानिसहरूको स्वास्थ्यमा समस्या निम्तिएको थियो।