भारतमा एकैदिन थपिए ३ लाख ४५ हजार कोरोना संक्रमित, थप कदम चाल्नेबारे मुख्यमन्त्रीसँग मोदीको छलफल

भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि शुक्रबार भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।



यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ । पछिल्ला हप्ताहरूमा कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले यस्तो कदम चालेको हो ।

मोदीले गरे मुख्यमन्त्रीहरूसँग छलफल
महामारी दिनप्रति दिन तीव्र रुपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका दिल्ली, महाराष्ट्रसहितका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

‘कोरोना भाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु,’ मोदीले भने । उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।

सम्बन्धित समाचार