बाइस जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना पक्राउ

२२ जनालाई कोरोना संक्रमण गराएको आरोपमा एक जना ४० वर्षीय पुरुषलाई पक्राउ गरिएको छ । स्पेनका ती पुरुषले खोकी र १०४ डिग्रीभन्दा बढी ज्वरो आउँदा पनि काम गर्न गएको र जीम पनि गरेकाले अन्य व्यक्तिलाई संक्रमण फैलाएको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

ती मानिसले आफ्नो कार्यस्थल मजोरकामा मास्क निकालेर खोक्दै आफ्ना सहकर्मीहरुलाई संक्रमण सारिदिन्छु भन्ने गरेको बताइएको छ । ती मानिसका ५ जना सहकर्मी र ३ जना जीम जानेहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



अन्य १४ जना उनीहरुका परिवारका सदस्यमा समेत संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ३ जना १ वर्षका बालबालिका समेत रहेका छन् । प्रहरीले जारी गरेको विज्ञप्तिमा ती मानिसले कयौं दिनदेखि कोरोनाको लक्षण देखिए पनि घर बस्न नमानेको र पीसीआर परीक्षण गरेर नतिजा समेत नकुरी काममा गएको उल्लेख छ ।

पीसीआर परीक्षणपछि पनि काममा आएकाले सहकर्मीहरुले प्रहरीमा खबर गरेपछि ती मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार