नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ वैशाख ।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिने क्रम जारी छ। पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार विहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४५२ संक्रमित थपिएका हुन्।
यो अवधिमा ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ। पछिल्ला केहि दिन यता भारतमा हरेक दिन साढे तीन लाख भन्दा धेरै संक्रमित थपिने गरेका छन् भने दैनिक तीन हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। गहिरिँदै गएको कोरोना संकटकाबीच मोदीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता मन्त्रिपरिषदको बैठक पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत बस्न लागेको हो।