नेपाल लाइफ २१ औं वर्षमा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नोे स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी विस २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आएको कम्पनीले दावी गरेको छ । देशका दुरदराजसम्म बीमाको पुहँच पुर्याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न नेपाल लाइफ सफल भएको कम्पनीले जनाएको छ ।

कोरोना कहरका कारण देशले भोगिरहेको विषम परिस्थितिको सामना गर्न अग्रपङ्तिमा रही निरन्तर सेवामा लागिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई यस उचाइसम्म ल्याइपुर्याउनमा निरन्तर साथ एवं उचित मार्गनिर्देश गर्नुहुने नियमनकारी निकाय, संचालक समिति, शेयरधनीलगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरेका छन् । साथै उनले कम्पनीलाई निरन्तर विश्वास र भरोसा गर्ने बीमितहरू, अहोरात्र खटिइ नेपाल लाइफको सेवा विस्तारमा साथ दिने अभिकर्ताहरू तथा कम्पनीको बृहत्तर हितका लागि मेहनती र लगनशील भई सेवा प्रवाह गर्ने सम्पूर्ण कर्मचारीहरूलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

हाल कोरोना भाइरस महामारीका कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफू, आफ्नो परिवार, समाज एवं सबैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य मापदण्ड अपनाई आवश्यक जीवनशैली अपनाउनसमेत कार्यकारी प्रमुख प्रसाईले आग्रह गरे । साथै, उनले कोरोना भाइरसको महामारीमा पनि सरलरूपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरे ।

कम्पनीबाट प्राप्त विज्ञप्तिमा भनिएको छ– करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ । कम्पनीमा सर्वाधिक लगानी रू. १११.४७ अर्ब रूपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमाकोष रू. १०१ अर्ब २८ करोड रूपैयाँ र सर्वाधिक शेयरधनी कोष रू. ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ । कम्पनीको सर्वाधिक चुक्ता पूँजी रू. ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पूँजिकरण रहेको छ ।

यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी रू. ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी रू. ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी रू.३.७३ अर्बभन्दा बढी भुक्तानी गरिसकेको छ । कम्पनीमा १,७६,०४३ भन्दाबढी सर्वाधिक प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सम्बन्धित समाचार