कलाकार मदनकृष्ण फेरि अस्पताल भर्ना

कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । अक्सिजन लेवलमा कमी आएपछि उनलाई पुनः अस्पताल लगिएको हो । आठ दिन अस्पतालमा उपचारपछि गएको आइतबार मात्रै घर फर्किएका उनलाई भोलिपल्टै फेरि अस्पताल लगिएको उनकी छोरी सराना श्रेष्ठले बताइन् ।

‘बुवा डिस्चार्ज भएर घरमा एक रात मात्रै बस्नुभयो,’ उनले भनिन्, ‘अक्सिजन लेवल ८४ मा झरेपछि भोलिपल्ट नै फेरि अस्पताल लग्नुपर्‍यो र अब अझै केही दिन अस्पतालमा राखेर उपचारमा बस्नुहुन्छ ।



कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको सरानाले जानकारी दिइन् । परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको उनले बताइन् ।

मदनकृष्ण हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा छन् । यद्यपि, उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको सरानाले बताइन् । पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनीहरु होम आइसोलेसनमा थिए । तर, छातीमा सामान्य समस्या देखिएपछि उनलाई पहिलोपटक वैशाख १० गते मेडिसिटी अस्पताल लगिएको थियो । आठ दिनको उपचारपछि उनी घर फर्किएका थिए ।

सम्बन्धित समाचार