एलपी पौड्याल
काठमाडौं, २५ वैशाख ।
‘नेताज्यू, आन्दोलनमा घाइते भएको एउटा कार्यकर्ता बाटोमा उभिएर हात उठाउँदै छ, गाडी रोकिद्युँ ?’
‘आन्दोलन भनेको त्यस्तै हुन्छ अमर ! धेरैको ज्यानै गयो, ऊ त जीवितै रहेछ । हामी पनि झण्डै शहीद भएका । आन्दोलनमा सघायो भन्दैमा बाटोमा भेटिने सबैलाई गाडीमा चढाएर साध्य हुन्छ ? उनीहरूका लागि हामीले लोकतन्त्र ल्याइदिएका छौँ ।’
‘हजुरले आन्दोलनपछि गरिब र मजदुरका हातमा सत्ता आउँछ, एउटा मजदुर देशको राष्ट्रपति, प्रधानमन्त्री बन्न सक्छ, उसले सबै गरिब र मजदुरहरूको कल्याण हुने कार्यक्रम ल्याउँछ, लोकत्रन्त्रमा कसैमाथि पनि विभेद हुँदैन भनेर भन्नुभएको होइन ?’
‘ती त भन्ने कुरा मात्र हुन् अमर ! राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएपछि को गरिब रहन्छ र को मजदुर रहन्छ ? अनि वास्तविक गरिब र मजदुर नभएको मुलुक कहाँ छ ? नेतृत्वले शासन गर्ने भनेकै त्यस्तै गरिब र मजदुरमाथि हो । अभाव र पीडा नभए को नेताको पछि लाग्छ ? अप्ठ्यारो नपरी मान्छे मन्दिर त जाँदैनन् । समानताका कुराहरू त जनता आन्दोलित बनाउने क्षेप्यास्त्र मात्र हुन् । तिमी राजनीति बुझ्दैनौ अमर… । बुझ्ने प्रयास पनि नगर ।’
‘……………………..’
‘अरे, यो बीच बाटोमा नै गाडी किन रोकेको अमर ?!’
‘नेताज्यू, अब म तपाईको गाडी चलाउँन सक्तिनँ । ढिलै भए पनि तपाईले मेरो आँखा खोलिदिनुभयो । तपाईको यो झुटको गाडी तपाई आफैँ चलाउनुहोस् । म सक्दिनँ ।’
‘अमर…..!’
आफ्नै चिच्याहटले नेता व्युँझिए । उनी हालै खरिद गरेको नयाँ बङ्गलाको सुविधा–सम्पन्न कोठामा आराम गरिरहेका थिए । टेबलमा रहेको एउटा पत्रिका हावाले फरफराई रहेको थियो । मुख्य शीर्षक परैबाट देखिन्थ्यो– ‘आन्दोलनलाई नेताले सत्तामा पुग्ने भर्याङ मात्र बनाए ।’
सबै स्थिति बोध भएपछि आश्वस्त हुँदै उनी बर्बराए– ‘धन्न सपना मात्रै रहेछ !’