कनेक्टिकट चौतारी २०२१ को विमोचन सम्पन्न

सामाजिक दूरी कायम राख्दै कनेक्टिकट कनेक्टिकट नेपाली समाज (नेकोन, अमेरिका) को वार्षिक मुखपत्र कनेक्टिकट चौतारीको आठौं संस्करणको विमोचन कार्यक्रम वेस्ट हार्टफोर्डको वालकट पार्कमा यही अप्रिल १८, २०२१ का दिन भव्य रूपमा सम्पन्न भएको छ ।

गत वर्षझैँ यसपटक पनि धन लामा प्रमुख सम्पादक रहेकोे उक्त प्रकाशनलाई संस्थाका पदाधिकारी, सल्लाहकार, समाजका विभिन्न अग्रज एवं सामाजिक व्यक्तित्वहरूको भौतिक उपस्थितिमा वेस्ट हार्टफोर्ड टाउनकी मेयर स्यारी जी क्यान्टर र राज्य प्रतिनिधि केट फरारले संयुक्त रूपमा विमोचन गरेका थिए । कोभिड–१९ तथा अन्य कारणहरूले गर्दा उपस्थिति अपेक्षाकृत नभएता पनि उल्लेखनीय रहेको थियो ।



संस्थाका अध्यक्ष नारायण पौडेलको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रघु गिरीले स्वागत मन्तव्य राखेका थिए भने प्रधान सम्पादक धन लामाले मुखपत्र प्रकाशनको सिलसिलामा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै यस पटक पनि संस्थाको मुखपत्र कनेक्टिकट चौतारी डिजिटल फ्लिपबुक संस्कारणमा छापिएको कुराको जानकारी गराएका थिए । कार्यक्रमलाई सचिव राजन तिम्सिनाले उद्घोषण गरेका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार कृष्ण अधिकारी, भूतपूर्व अध्यक्षहरू र स्थानीय संघ संस्थाहरूका प्रतिनिधिहरूले पनि नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई शुभकामना व्यक्त गरेका थिए ।

उक्त दिन बेलुका ६ः३० देखि ८ः३० सम्म संस्थाका सल्लाहकार रोमी योञ्जनको संयोजकत्वमा सम्पन्न जुम भर्चुअल साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारहरू वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तान र एक दर्जनभन्दा बढी स्थानीय कलाकारहरूले सहभागिता जनाएका थिए । त्यस्तै नेकोन, अमेरिकाले अप्रिल १६ तारिख शुक्रवारका दिन साँझ ६ बजे देखि ७ बजेसम्म डा. झरेन्द्र रिजालको नेतृत्वमा कोभिड–१९ र यसको भ्याक्सिनको सेरोफेरोमा रहेर एक स्वास्थ्य सचेतना कार्यक्रम पनि भर्चुअल जुममार्फत नै सम्पन्न भएकोे थियो ।

कनेक्टिकट चौतारी २०२१ को डिजिटल संस्करणको लागि तलको लिंकमा क्लिक गर्नुहोला ।

ttps://www.connecticutchautari.com/2021

 

 

 

 

 

सम्बन्धित समाचार