ओली-नेपालबीच फोनवार्ता : नेपालले भने-‘अब धेरै ढिला भैसक्यो, सम्भव छैन’

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउनका लागि वरिष्ठ नेता माधव नेपाललाई मनाउन प्रयास थालेका छन्। ओलीले आज बिहान नेपाललाई फोन गरी स्थायी कमिटीको बैठकमा सहभागी हुन आग्रह गरेका छन्।

ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन लागिपरेका माधव झलनाथ खनाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ओलीले छलफलका लागि फोन गरिएको बुझिएको छ। अहिले १० बजेबाट बालुवाटारमा एमालेको स्थायी कमिटी शुरु हुने भनिएको छ। बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्यहरु बालुवाटार आइपुग्न थालेका छन्।



माधव नेपालले भने अहिले बैठकमा सहभागी हुन नसक्ने जानकारी ओलीलाई गराएको नेपाल निकट स्रोतले जनायो। नेपालले ओलीलाई वार्ताको लागि धेरै ढिलो भैसकेको जवाफ फर्काएका थिए ।

सोमवार प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार गठबन्धन सरकार गठनको आह्वान गरिसकेकी छन्। सोमवार राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ।

सोमवार राष्ट्रपतिले वैशाख ३० गते राति ९ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। समयसीमा घकिँदै जाँदा ओलीले नेपाललाई मनाउन थालेका हुन्।

सम्बन्धित समाचार