नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । २७ वैशाखमा विश्वासको मत नपाएपछि ओली नेतृत्वको मन्त्रिपरिषद् कामचलाउ बनेको थियो । तर विपक्षीले पनि बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेताका हैसियतले ओलीले नै प्रधानमन्त्रीमा निरन्तरता पाएका हुन् । ओली पुनः नियुक्ति भएसँगै मन्त्रिपरिषद्का सवै मन्त्रीहरुको पद गुमेको छ ।
आजै दिउँसो प्रधानमन्त्रीको रुपमा ओलीले सपथ लिँदैछन् । स्रोतका अनुसार उनीसँगै आज नै केही मन्त्रीहरुले पनि सपथ लिनेछन् । यसअघि मन्त्रिपरिषद्मा सहभागी केही मन्त्रीहरुलाई निरन्तरता दिइने भएको छ भने वरिष्ठ नेता माधव नेपाल समूहका कम्तिमा ४ जना नेतालाई मन्त्री बनाइने भएको छ । यद्दपी नेपाल समूहले केही दिन पछि मात्र शपथ खाने भएको छ ।
एमालेका एक केन्द्रीय सदस्यले दिएकाे जानकारी अनुसार प्रधानमन्त्री ओलीले आज यसअघिकै मन्त्रीलाई यथावत पदमा नै निरन्तरता दिने तयारीमा छन् ।
नेपाल समूहबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, वेदुराम भुषल र रामकुमारी झाँक्री मन्त्री बन्ने सम्भावना रहेको छ । यद्दपी झाँक्रीले ओली सरकारमा सहभागी नहुने बताएकोले उनको विकल्प खोज्न सकिने बताइएको छ ।
नयाँ मन्त्रिपरिषद्मा केही दिनपछि जनता समाजवादी नेपालका केही सांसदहरु पनि समावेश हुन सक्ने अनुमान पनि गरिएको छ । विहीबार प्रधानमन्त्रीमा नियुक्त ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ । जसपाका महन्थ ठाकुर पक्षधरले उनलाई यसपटक विश्वासको मत लिन सहयोग गर्ने अनुमान छ ।
