नवकान्तिपुर संवाददाता
काठमाडौं, २ जेठ ।
वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। कोरोना भाइरसबाट संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको छोरा पंकज कार्कीले जानकारी दिए।
चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय रहेका कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्म भएको थियो।
नेपालीसहित हिन्दी तथा उर्दू भाषामा साहित्य सिर्जना गरेका कार्कीको जन्म स्याङ्जाको वाँटरी गाउँमा भएको थियो। उनको निर्देशनमा बनेका चलचित्रहरु विश्वास, भूमरी, पहिलो प्रेम हुन्। उनले विसं २०२५ सालमा परिवर्तन चलचित्रको पटकथा संवाद लेखनबाट नेपाली चलचित्रमा प्रवेश गरेका थिए। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।