कार्यदल गठन गरेपछि नेपाल समूह थप रणनीति तय गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यदल बनाउने सहमति गरेर निस्किएलगत्तै एमाले नेता माधवकुमार नेपाल भर्चुअल बैठकमा जुटेका छन् । उनले अहिले आफूपक्षीय स्थायी कमिटी सदस्यसँग भर्चुअल मिटिङ गरिरहेको एक सदस्यले जानकारी दिए ।

आइतबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा एमाले विवाद समाधान गर्न दुवै तर्फका पाँच–पाँचजना रहने कार्यदल बनाइएको थियो ।



ओलीको तर्फबाट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल रहने निर्णय गरिएको थियो । खनाल–नेपाल समूहकातर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने बताइएको छ ।

कार्यदललाई तीन दिनको कार्यादेश–समयसीमा दिइएको छ । समय अपुग भए थप्नेबारे पनि छलफल भएको स्वयम् नेता नेपालले बताएका छन् । प्रधानमन्त्री ओलीले पनि पार्टीभित्रको विवाद मिल्ने दिशातिर अघि बढेको बताइरहँदा खनाल–नेपाल समूह भने कार्यदल कसरी अघि बढ्ने, आफ्ना मागहरू कसरी प्रस्तुत गर्ने भनेर रणनीति बनाउन जुटेको बताइएको छ ।

सम्बन्धित समाचार