
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई पार्टीमा एउटै धार बनाएर जान प्रस्ताव गरेका छन् । महन्थले भने आफूनिकट नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।
आइतबार पार्टी कार्यालय बालकुमारीमा उपेन्द्र र महन्थबीच पार्टीभित्र देखा परेका आन्तरिक विवादका विषयमा छलफल भएको उपेन्द्रनिकट नेता मोहम्मद इस्तियाक राईले बताए । ‘पार्टी एक भएर निर्णय गरेर जाऊँ, पार्टी एकता बचाएर जाऊँ भन्ने प्रस्ताव अध्यक्ष यादवले राख्नुभयो,’ राईले भने ।
महन्थले भने नेताहरुसँग छलफल गरेर जवाफ दिन्छु भनेर बाहिरिएको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिनेबारे उपेन्द्र र महन्थ पक्ष विभाजित भएका थिए । महन्थ पक्षका १५ सांसद तटस्थ बसेपनि उपेन्द्र पक्षका १७ जनाले भने विपक्षमा मतदान गरेका थिए ।
