भारतमा निरन्तर घट्दै कोरोना संक्रमण, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ । एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।



संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४ हजार ९२ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

सम्बन्धित समाचार