
विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा) भित्रको राजनीतिले नयाँ मोड लिएको छ। अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादद, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच एकताको विन्दु खोज्नेतर्फ छलफल सकारात्मक दिशामा अघि बढेको छ। तीन नेताको पटक पटकको टेलिफोनवार्ता र आज विहान ठाकुर र यादवबीच भएको छलफलपछि तत्काललाई मौन बस्ने सहमति भएको जसपाका एक नेताले बताए।
ठाकुर र यादवबीच आइतबार पार्टी कार्यालयमा सहमतिका लागि छलफल भएको थियो। यादवको पार्टी विभाजन रोक्न सहमति गरेर अगाडि बढौं भन्ने प्रस्तावमा ठाकुरले साथीहरुसँग छलफल गरेर पुन: बस्ने जवाफ दिएका थिए। सोमबार पुनस् दुई नेताहरुबीच भेट्ने भनिएको भए पनि भेट हुन सकेको थिएन।
‘जसपाभित्र दोस्रो पुस्ताका नेताहरुको पनि सहमतिका लागि दवाव छ’, ती नेताले भने, ‘निरन्तरको दबाबपछि नेताहरु तत्काललाई ‘युद्धविराम’ गर्न सहमत भएका हुन्।’ आज नै एकता झल्किने गरेर विज्ञप्ति जारी गर्ने तयारीसमेत भएको ती नेताले बताए।
यस अघि यादवले कार्यकारिणी बैठक बोलाएपछि ठाकुरले त्यसप्रति आपत्ति जनाउँदै बैठक नबोलाएको विज्ञप्ति जारी गरेका थिए। ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको दावी गरेपछि यादवले संसदी दलको बैठक नबसेको र दलको नेता चयन नगरेको विज्ञप्तिमार्फत जनाएका थिए।
