
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद भवन ल्होत्से हल २ः३० बजे बैठक बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । खाणका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुने छ ।
छलफलमा कोरोना महामारी, बजेट र नयाँ सत्ता समीकरणका विषयमा छलफल हुने उनको भनाइ छ । ‘कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दबाब दिने छदैछ । सरकार संसदबाट भाग्न खोजेका देखिएको छ । बजेटअघि पूरा गर्नुपर्ने संवैधानिक र प्रक्रियागत कामसमेत अघि बढाइएको छैन । यस विषयमा छलफल हुन्छ,’ खाणले भने ।
सरकारले बजेट जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, अहिलेसम्म संसद अधिवेशन नै बोलाएको छैन । बजेट ल्याउनुअघि संसदमा प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित हुनै पर्छ । तर, समयमै संसद् अधिवेशन नबसेका कारण प्रि–बजेट छलफलको समय गुज्रिएको छ।
बजेट ल्याउनु १५ दिनअगावै प्रि–बजेट छलफल सक्नुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था सरकारले लत्याइसकेको छ ।यस्तै प्रतिनिधिसभामा विश्वासको मत गुमाएर फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री भएका एमाले अध्यक्ष केपी ओली ३० दिनभित्र विश्वासको मत लिने तयारीमा छन् । यता जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । यी सबै विषयका सन्दर्भमा बैठकले रणनीति बनाउने खाणको भनाइ छ ।
