एमाले कार्यदलको बैठक आज पनि बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुँदै

काठमाडौं पार्टीको विवाद मिलाउन गठित सत्तारुढ दल नेकपा एमाले कार्यदलको दोस्रो बैठक आज पनि बस्दै छ। बैठक आज साँझ ७ बजे बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए। बैठकमा भोलि हुने राष्ट्रिय सभाको उप-निर्वाचनका विषयमा पनि छलफल हुने जनाइएको छ। राष्ट्रियसभामा एमालेकै दुई उम्मेद्वार रहेका छन् । नेपाल पक्षले कस्लाई मतदान गर्ने भन्ने निर्णय लिइसकेको छैन ।

हिजो बसेको बैठकले एकताको सन्देश प्रवाह गर्ने गरी काम थालेको छ। कार्यदलको पहिलो बैठकले एकता कमजोर हुने र एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ।



सिंहदरबारमा बसेको बैठकले पार्टीमा देखिएका समस्या समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन सबैसँग सहयोगका लागि आग्रह गरेको थियो। नेता भीम रावल र प्रदीप ज्ञवालीले एकै स्वरमा एकताको सन्देश दिने गरी कार्यदलले काम थालेको र सहयोगको अपेक्षासहित अपील गरेको जनाएका थिए।

बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो। आज त्यस विषयमा थप छलफल हुने नेता नेम्बाङले बताए।

सम्बन्धित समाचार