मन्त्रिमण्डल विस्तारको तयारीमा मुख्यमन्त्री गुरुङ, को-को बन्दैछन् मन्त्री ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारको तयारी थालेका छन् । स्रोतका अनुसार उनले दिउँसोसम्म केही पुरानै मन्त्रीहरू दोहोर्‍याएर सानो आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्दैछन् ।

गुरुङ सरकारको दोस्रो कार्यकालमा मन्त्री दोहोरिनेमा सम्भवतः आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ‘दीपक मनाङ्गे’ छन् । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यता प्रदेश सरकारलाई भएकाले उनले सानै आकारको भए पनि मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । बजेटको १५ दिनअघि प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।



अविश्वासको प्रस्तावमा वैशाख २७ गते मत विभाजन हुनु १ दिनअघि पदबाट राजीनामा दिएका मुख्यमन्त्री गुरुङ प्रदेश सभामा ठूलो दलको हैसियतले वैशाख ३० गते पुनः मुख्यमन्त्री दोहोरिएका थिए ।

जेठ ३० दिनभित्र प्रदेश सभामा उनले विश्वासको मत लिनुपर्छ । त्यसको लागि कूल ६० सदस्यमा बहुमतका लागि आवश्यक ३१ सदस्यको समर्थन चाहिन्छ । उनको पार्टी नेकपा एमालेसँग अहिले २७ जना मात्र सांसद छन् । स्वतन्त्र सांसद मनाङ्गेको साथ हुँदा २८ भए पनि आवश्यक ३ सदस्यको लागि विपक्षी कुनै पार्टीलाई फकाउनुपर्छ ।

सरकारमा आए राष्ट्रिय जनमोर्चा नेपाल ९राजमो० र जनता समाजवादी पार्टी ९जसपा० लाई मुख्यमन्त्रीले रोजेर मन्त्रालय दिने पक्षमा छन् । प्रदेश सभामा विपक्षी कांग्रेसका १५, माओवादी केन्द्रमा सभामुखसहित १२, राजमो ३, जसपा २ सदस्य र स्वतन्त्र १ सदस्य छन् । मुख्यमन्त्री गुरुङ कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका छन् ।

सम्बन्धित समाचार