नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ जेठ ।
सर्वोच्च अदालतले सांसद नभएका सातजना मन्त्रीको नियुक्ति बदर गरेकै दिनमा राष्ट्रिय सभा सदस्यमा पनि गृह मन्त्री रामबहादुर थापा बादल पराजित भएका छन् । विहीबार भएको उपनिर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपाल निकट रहेका खिमलाल देवकोटाले बादललाई पराजित गरेका हुन् ।
विहीबार नै प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले बादलसहित सातजना मन्त्रीलाई सांसद नरहेको भन्दै नियुक्ति बदर गरेको थियो । सांसद नभएका व्यक्ति एकपटकलाई बढीमा ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था भए पनि पुनः नियुक्ति पाएपछि उनीहरुको नियुक्तिविरुद्धमा सर्वोच्चमा रिट दायर भएको थियो ।
उपनिर्वाचनमा हारेपछि समाजिक सञ्जालमा थापा लेख्छन् -‘आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिकार उपमहानगरपालिकारनगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा खिमलाल देवकोटालाई बधाई ।’