संसद विघटनलाई लिएर सभामुख सापकोटाले दिए यस्तो प्रतिक्रिया

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्। शनिबार वक्तव्य सार्वजनिक गर्दै उनले संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन।’ उनले लेखेका छन्,’यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ।’



उनले असंवैधानिक संसद विघटनविरुद्ध एकजुट हुन सबैलाई आग्रहसमेत गरेका छन्। सापकोटाले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेस भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधिसभा विघटनको निष्कर्षमा पुग्नु संवैधानिक कदम मान्न नसकिने बताएका छन्।

‘राष्ट्रपति कार्यालयबाट जेठ ७ गते जारी गरिएको विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधिसभा निएमावली २०७५ को व्यवस्थासँग मेल खाएको देखिदैन’ सापकोटाले विज्ञप्तिमा भनेका छन,‘जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन आउँछ।’

सम्बन्धित समाचार