
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र–बाबुराम पक्षले गरेका निर्णय मान्य नहुने भन्दै निर्वाचन आयोगलाई पत्र पठाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दैै अध्यक्ष ठाकुरले बैठक स्थगित गरेर र सबै सदस्यलाई जानकारी गराइ सकेपछिको अवस्थामा बसेको तथाकथित बैठकप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
अध्यक्ष ठाकुरले आज आफ्ना पक्षका कार्यकारिणी समितिका सदस्यहरुसँग पार्टी कार्यालयमा छलफलसमेत गरेका छन् । शनिबार संघीय परिषद् अध्यक्षद्वय भट्टराई–यादवपक्षको कार्यकारिणी समिति बैठकले अर्का अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सवेन्द्रनाथ शुक्ललाई ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
तर आज अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको त्यस्तो बैठकबाट भएका निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र कांग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हित विपरित गतिविधि गरेको भन्दै उपेन्द्रलाई स्पष्टीकरण सोध्ने आइतबारको छलफलमा निर्णय भएको जनाइएको छ ।

