नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।

संसद् विघटनविरुद्ध नेपाली कांग्रेससहित ५ दलले आज सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएका छन्। नेकपा माओवादी केन्द्रका नेता देव गुरूङका अनुसार प्रतिनिधि सभा भंगविरुद्ध रिट दर्ता गर्न अदालत जाने तयारी भइरहेको छ।
हिजै अदालत जाने तयारी गरेका ५ दलले आफ्ना पक्षका १ सय ४९ जना सांसदको नागरिकतासमेत लिएर जाने निर्णय गरेकाले त्यो संकलन गर्न समय लागेपछि मुद्दा हाल्ने समय आजका लागि सारिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानअनुसार यही जेठ ७ गते १ सय ४९ सांसदको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको कार्यालय पुगेर प्रधानमन्त्री पदको दाबी पेस गरेका थिए। तर राष्ट्रपति भण्डारीले दाबी नपुगेको भन्दै उनको निवदेन खारेज गरेर संसदै विघटन गरेपछि विपक्षी ५ दलले कानुनी लडाइँ सुरु गरेका हुन्। यसमा प्रधानमन्त्री केपी शर्मा ओलीकै पार्टी एमालेको माधव नेपाल पक्ष पनि सहभागी छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने घोषणा गर्दै संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए। तर पछि उनी आफैं पनि १५३ सांसद आफन पक्षमा रहेको भन्दै प्रधानमन्त्री पदको दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।
यसपछि राष्ट्रपतिले ओली र देउवा दुवैको दाबी नपुगेको भन्दै शुक्रबार मध्यराति प्रतिनिधि सभा नै भंग गरेकी हुन्। यसविरुद्ध चौतर्फी आलोचना भइरहेको छ।

