नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ। उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्।
आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन्। प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताए।
ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन्। नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्।
माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो। साथै मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने ओलीले बताइरहेका छन्। संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।
जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन्।

