नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले केही फरक नपर्ने बताएका हुन् ।
नेता खनालले ओलीले गरेको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने स्पष्ट पारे । ‘आफ्ना सहयोद्धा साथीहरूलाई यसरी कारबाही गरेका छन् । यो ओलीको हिटलर, निरंकुश, निर्मम र क्रुरतापूर्ण काम हो । म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौ समेत हल्लिएको छैन’, उनले भने ।
वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी ओलीलाई जसरी पनि बिदाइ गर्नुपर्ने बताएका छन् । खनालले प्रधानमन्त्री ओलीले जनताको लासमाथि राजनीति गरेको समेत आरोप लगाए ।
प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओलीले खनाल नेपाल सहितका ११ जनालाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेका छन् ।

