प्रतिगमनकारीविरुद्ध बुद्धले जस्तै विद्रोह गरौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाकाविरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रन आह्वान गरेका छन्।

गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बीहरुमा सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो आह्वान गरेका हुन्। ‘गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याउनु भएको योगदान नेपालीहरुका लागि गर्वको कुरा हो,’ उनले लेखेका छन्, ‘बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन्।’



सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुनेमा प्रचण्डको जोड छ । ‘दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँछ,’ शुभकामना सन्देशमा प्रचण्डले लेखेका छन्, ‘त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा हामीले भोग्दै आएका छौं।’

बृहद् जनसमुदायको भावना र आकांक्षा विपरित सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१ औं शताब्दीको विचार, भावना र चेतनालाई नदर्साउने उनको बुझाई छ। ‘पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ,’ उनले भनेका छन्, ‘त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु।’

उनले आजकै दिन परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डी पूर्णिमाका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन्। ‘कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने विश्वास सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु,’ उनले भनेका छन्।

सम्बन्धित समाचार