नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘जो चोर उसकै ठूलो स्वरु टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै ट्विट गरेका जसपा संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सम्बोधनलाई अवैधानिक भन्दै ‘वार्षिक नीति तथा कार्यक्रम’ वाचन, त्यसभित्रका असत्य र अर्धसत्य दाबी र प्रतिपक्षी दल तथा नेतामाथि दुराशयपूर्ण कटाक्ष भएको उल्लेख गरे ।
आज प्रधानमन्त्री ओलीले सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाइने बताएका थिए । साथै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पर्खिरहेका र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका थिए। खोपको असमान वितरण हुँदा विकासशील मुलुकका समग्र योजना प्रभावित भएको उल्लेख गर्दै उनले यसमा विश्वव्यापी सहकार्यमा जोड दिए ।
तर भट्टराईले प्रधानमन्त्रीको यो अभिव्यक्तिले ‘चिउरा भिज्दैन’ भनी लेखेका छन् । साथै ओलीले विपक्षी दलहरूको गठबन्धनलाई ‘नीतिहीन’ को संज्ञा दिँदै नीतिहीनको भर्याङ चढेर सरकार जान खोज्नु ‘अराजनीतिक झेली’ भएको टिप्पणी पनि गरेका थिए। यसप्रति भट्टराईले ‘अति गरे खति’ हुने उल्लेख गरेका छन् ।

