नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य घटाएको छ । निगमको संचालक समितिको २०७८ जेठ २३ गते बसेको बैंठकले अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलो लिटर १७८ डलरले घटाई नयाँ बिक्री मूल्य कायम गरेको छ । नयाँ दर अनुसार अब प्रति किलो लिटर ७१५ अमेरिकी डलर कायम भएको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय हवाइ इन्धनबाट निगमलाई ४० प्रतिशत नाफा हुँदै आएको थियो । कोरोनाका कारण सिर्जना भएको वर्तमान अवस्था रहुञ्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १५ प्रतिशत मात्र नाफा राखी मूल्य निर्धारण गर्ने नीति संचालक समितिबाट पारित भए अनुरूप नयाँ मूल्य समायोजन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय हवाइ इन्धनबाट हुने मुनाफाले एलपी ग्यासमा हुने नोक्सानीलाई केही हदसम्म भए पनि कम गर्न निगमलाई मद्दत पुगिरहेकोे भए पनि नेपालबाट अन्तर्राष्ट्रिय उडान हुने नेपाली वायुसेवा कम्पनीहरूको गुनासो तथा सम्बन्धित मन्त्रालय, नागरिक उड्यन प्राधिकरण तथा निगमबीच पटक पटक भएको छलफलका आधारमा पछिल्लो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ ।