नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरेका कारण बर्खास्त एमालेका चार सांसदलाई सर्वोच्च अदालतले पदमा पुनर्बहाली गरेपछि ‘निष्कासित’ एमाले उपाध्यक्ष भीम रावल खुसी भएका छन्। अदालतले विहीबार अन्तरिम आदेश दिनासाथ हर्षित हुँदै रावलले सामाजिक सञ्जालमार्फत पद जोगिएका कर्णालीका चार प्रदेश सांसदलाई बधाई दिएका हुन्।
‘सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधानविपरीत गठित दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरी कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कारबाही रोकिदिएको छ,’ रावलले लेखेका छन्, ‘चारै जना प्रदेश सभा सदस्य कमरेडहरूलाई बधाई! राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राखौं।’
उनीहरूले वैशाख ३ गते शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। वैशाख १४ मा कारबाहीमा परेपछि सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले विहीबार कर्णालीका प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।

