नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ जेठ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन् । आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उनीहरूले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न दाबी पेश गरेका हुन् ।
दाबी पत्र दर्तासमेत भइसकेको छ। मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्याउन ३१ सांसद चाहिन्छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुपर्नेमा छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले विहीबार प्रदेश सभामा विश्वास गुमाएपछि सरकार ढलेको थियो। आज प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्दै शनिबार अपरान्ह ३ बजेसम्म समय दिएकी थिइन् ।

