नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। शनिबार आफ्नो निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक डाकेका उनले असार ३ गतेका लागि केन्द्रीय समिति डाकेका हुन्।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिएका छन्। बैठकले पार्टीको १४ औँ महाधिवेशनको मितिबारे पदाधिकारी बैठकले गरेको प्रस्तावको अनुमोदन गर्ने तयारी गरेको छ। शनिवारको बैठकले महाधिवेशनको मिति एक हप्ता पर सार्ने प्रस्ताव गरेको छ।
यसअघि केन्द्रीय महाधिवेशनको मिति भदौ ७ बाट हुने तोकिएकोमा भदौ १६ बाट गर्ने गरी नयाँ मिति प्रस्ताव गरिएको छ। बैठकमा समसामयिक राजनीति घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ।

