निर्वाचन आयोगको निर्णयप्रति बाबुराम आक्रोशित, दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले निर्वाचन आयोगको निर्णयप्रति रोष प्रकट गरेका छन्। भट्टराईले वादी र प्रतिवादी दुबैलाई मिलेर बस्न भन्ने आयोगको निर्णय प्रधानमन्त्री केपी ओलीको इशारामा भएको हुनसक्ने तर्फ संकेत गरेका छन्।

‘खड्गप्रसाद एण्ड कम्पनीको नयॅा विधिशास्त्रस् कसैले चोर्‍यो भने चोरी गर्नेको विरूद्ध मुद्दा हाल्नू! चोरलाई पनि मैले चोरेको हैन, उल्टै मुद्दा हाल्ने (वादी)ले चोरेको हो भनेर प्रतिवाद गर्न लगाउनू। मुद्दा हेर्ने कार्यालयले दुवै वादी र प्रतिवादी चोर हुन्, मिलेर बस्नू भन्ने फैसला गर्नू! वाह!’ ट्वीट् गर्दै बाबुरामले भनेका छन्।



आइतबार आयोगले जसपाका दुबै पक्षको कारवाहीलाई अस्वीकार गरेको थियो। उपेन्द्र यादव र जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले एक अर्कालाई कारवाही गरेर निर्वाचन आयोगलाई कारवाहीको विवरण अध्यावधिक गरिदिन आग्रह गरेका थिए।

यादव पक्षले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल र सर्वेन्द्रनाथ शुक्ल गरी ४ जनालाई पार्टीको साधारण सदस्यबाट हटाएको थियो भने ठाकुर समूहले यादवलाई पार्टीबाट निष्काशन गरेको थियो। यादव पक्षले केन्द्रीय कार्यकारणी समितिको हस्ताक्षर आयोगमा बुझाएको भए पनि ठाकुर पक्षले भने कोरोनालाई कारण देखाएर कार्यकारणी समितिको हस्ताक्षर बुझाएको थिएन।

राजनीतिक दल सम्बन्धि ऐन २०७३ बको दफा ५१ अनुसार अद्यावधिकका लागि यादव र ठाकुरले दाबी गरेको भए पनि आयोगले उक्त दफा अनुसार अद्यावधिक गर्न नमिलेको निर्णय गरेको हो। बाबुराम पक्षले यस विषयलाई लिएर अदालत जानेसमेत जनाएको छ। केन्द्रीय कार्यकारीणी समिति सदस्य महोमद इस्तियाक राईले पार्टीको विधान अनुसार गरिएको कारवाहीलाई मान्यता नदिएकाले आयोगको निर्णयविरुद्ध अदालतमा जाने बताए।

‘नेकपा एमाले विघटन भइसकेपछिको एमालेको विधान हेरेर निर्णय गरेको छ। यसलाई हामी कानुनी उपचार खोज्छौ। हाम्रो विधानमा बहुमत अल्पमतको निर्णय गर्न पाउने र बहुमतको निर्णयलाई अल्पमतले स्वीकार गर्ने भन्ने छ,’ उनले भने। पार्टीको दलीय अनुसान अनुसार कारवाही गरेकोमा आयोग पार्टीको विधानमा प्रवेश गरेकाले बहुदलीय प्रजातन्त्र विरोधी काम आयोगले गरेको राईको आरोप छ।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने नदिने विषयमा भएको विवादले विभाजनको अवस्था आएको हो। ठाकुर समूह सरकारमा सहभागी छ भने यादव र अध्यक्ष डा भट्टराई समूह विपक्षी गठबन्धनमा सहभागी छ।

सम्बन्धित समाचार