नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ असार ।

गण्डकी प्रदेशका नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने र त्यस पछिमात्रै प्रदेशको थप मन्त्रिपरिषद् विस्तार गरी कामको बाँडफाड गर्ने तैयारी भैरहेको मुख्य मन्त्री कार्यालयको जानकारी छ ।
हाल गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल सहित नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले यस अघिनै बिना बिभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरिसकेका छन् ।
गत जेष्ठ २९ गते मुख्य मन्त्रीमा नियूक्त भएका पोखरेलले सबै मन्त्रालयको जिम्मेवारी आँफूसँगै रहेकाले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भएपनि अन्य मन्त्रालय बाट हुने दैनिक कार्यलाई छिटो छरितो बनाउनका लागि ४ गते नै विश्वासको मत लिएर अघि बढ्नका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता भइसकेको जनाइएको छ ।
प्रदेशको असार १ गते प्रस्तुत भएको बजेटमाथि ४ गतेको बैठकमा छलफल प्रारम्भ हुने कार्यक्रम रहेको जनाइएको छ । विपक्षी गठबन्धनमा सहभागी दलहरुमा मन्त्रालयको भागवण्डा मिल्न नसक्दा विस्वासको मतमा असर पर्ने देखिएर मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बुझिएको छ ।
