नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ असार ।

नेकपा एमालेभित्रको विवाद समाधानमा कुनै प्रगति हुन नसकिरहेको बेलामा पूर्वमाओवादी नेताहरू पनि रूष्ट बन्न थालेका छन् । सर्वोच्चको निर्णयपछि सरकारबाट हात धुन बाध्य भएका उनीहरू ओलीले पुनः मन्त्रीमा नियुक्त गर्ने आशाका साथ सरकारी निवास पनि नछोडी बसेका थिए । तर ओलीले जसपाको महन्थ ठाकुर समूहका ११ जना नेतालाई मन्त्री बनाउँदा आफूहरूलाई बेवास्थ गरेपछि पूर्वमाओवादी नेताहरूले एमालेमै रहेर अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेका हुन् ।
साथै पूर्वमाओवादी नेताहरू ओलीले पार्टीमा पनि कुनै भूमिका नदिएको आरोप लगाएका छन् । सरकारबाट बाहिरिएपछि पार्टीमा थप जिम्मेवारी दिने आश्वासन पूरा हुन नसकेको र मन्त्रालाय बाडफाँडमा बेवास्था गरेको भन्दै ओलीसँग रूष्ट रहदै आएका उनीहरूले पटक पटक ओलीसँग वार्तामा पनि बसेका छन् । तर वार्तामा ओली जिम्मेवार ढंगल प्रस्तुत नभएको र आफूहरूलाई उपयोग मात्र गर्ने नीति लिएको भन्दै उनीहरू थप सशंकित देखिएका छन् ।
प्छिल्लो समय सर्वोच्चले नागरिकता विधेयकमा अंकुश लगाएपछि माओवादी छाडेर एमाले सरकारमा सामेल भएका प्रभु शाह ओलीसँग थप चिढिएका छन् । आफूनिकटसँग उनले ओलीकै चलखेलले विधेयकमा अंकुश लागेको हुनसक्ने आशंका व्यक्त गर्ने गरेका छन् । त्यसो त शाहले अदालतले एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि कसरी अघि बढ्ने भन्ने विषयमा उतिबेलै ओलीसँग मतभेद बढेको स्वीकार्दै आएका थिए ।
सरकारबाट बाहिरिएपछि ओली र शाहबीच पटक पटक वार्ता भए पनि सहमति बन्न नसकेको बताइन्छ । कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताको पनि सहभागिता रहे पनि प्रगति भने खासै हुन सकेको छैन । आफ्नो मागको ठोस सम्बोधन नभएपछि एमालेमा रहेर अघि बढ्न नसकिने शाह बताउने गरेका छन् ।
बादलले पत्नीलाई मन्त्री बनाएपछि खटपट
जसपालाई सरकारमा सहभागी गराउँदै गर्दा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी समूहलाई तीन मन्त्रालय दिने आश्वासन दिएका थिए । तर यो समूहबाट सरकारमा सहभागितालाई लिएर नेताहरू आ–आफै बार्गेनिङ गर्न थालेपछि ओलीले खेल्ने मौका पाए । पूर्व गृहमन्त्री रामबहादुर थापाले भित्रभित्र ओलीलाई आफ्नो पत्नी नैनकला थापालाई मन्त्री बनाउन दवाव दिन थालेपछि ओलीले सो समूहका अन्यलाई बेवास्था गर्न थालेका थिए । अन्ततः नैकलालाई मन्त्री बनाएर उनले बादलको मुखमा बुजो लगाए र अन्य नेतासँगको सम्पर्क टुटाएर जसपाका ११ नेतालाई मन्त्री बनाए ।
बदलको चलाखी बुझेपछि लेखराज भट्ट, प्रभू शाह र तोपबहादुर रायमाझी लगायतका नेताहरू यतिबेला बादललाई नेतृत्व मानेर अघि बढ्न नसकिने निष्कर्षमा पुगेका छन् । थप रणनीति तय गर्न भन्दै बस्ने भेलामा बादलले माओवादीतिर फर्कने ढोका बन्द भैसकेकोले ओलीको लात्तो सहेर भए पनि उनको फेरो समात्न छोड्न नहुने बताउने गरेका छन् । अन्य नेताहरूले भने पार्टीमा थप जिम्मेवारी माग्नुपर्ने र एमाले २०७५ जेठ अगाडिको हैसियतमा फर्किएमा आफूहरूको भूमिका के रहने भन्नेबारे दुवै समूहसँग सहमति जुटाउनुपर्ने बताउने गरेका छन् ।
तर ओलीले भने पार्टी फुटाउने तयारीमा रहेको नेपाल समूहसँग पूर्वमाओवादी नेतालाई दिने भूमिकाबारे छलफल गर्न आवश्यक नरहेको भन्दै केही दिन कुरेर परिस्थितिको आँकलन गर्न आग्रह गरेको बुझिन्छ । पूर्वमाओवादी समूहका बादल बाहेकका नेताहरू भने ओलीको पछिल्लो रबैयाले एमालेमै रहेर अगाडि बढ्ने सम्भावना झिनो हुँदै गएको लख काटिरहेका छन् ।
