ओली नेपाल पक्षका नेताहरुबीच समिट होटलमा वार्ता, के भयो सहमति ?

एमाले विवाद मिलाउन दोस्रो तहका नेता आज पनि समिट होटल ललितपुरमा छलफल गरेका छन् । उनीहरूबीच आज करिब दुई घण्टाजति छलफल भएको एमाले स्थायी कमिटी सदस्य तथा ओलीपक्षीय नेता सुवास नेम्वाङले पुष्टि गरे । उनले वार्ता जारी राख्न र एकता बचाउनेगरी सहमति खोज्न दुवै पक्ष दृढ रहेको पनि जानकारी दिए ।

‘हामी निरन्तरजसो छलफलका छौँ,’ नेम्वाङले कुरा गर्दै भने, ‘परिणाम निस्किइसकेको छैन ।’ शुक्रबारको छलफलमा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए । झलनाथ खनाल र माधवकुमार नेपालको तर्फबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट रहेको बताइएको छ ।



नेता नेम्वाङले दुवै पक्षका तर्फबाट मिलन विन्दुको खोजी भइरहेको बताए । खनाल–नेपाल समूहले सहमतिका लागि ६ बुँदा अघि सारेको छ । गत जेठ २३ गते प्रधानमन्त्री ओलीले पनि एकताका लागि जेठ ३ मा फर्कन तयार रहेको बताउँदै सहमतिको प्रस्ताव अघि सारेका थिए ।

तर, त्यो अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी मुद्दालाई प्रभावित बनाउनेगरी प्रस्ताव आएको र जेठ २ मा फर्कने भए मात्रै समझदारी हुन सक्ने भन्दै खनाल–नेपाल पक्षले अस्वीकार गरेको थियो ।

सम्बन्धित समाचार