सभापतिमा दोहोरिन देउवाले थाले तयारी, निधिले दिए यस्ताे चुनौति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापपितमा उम्मेद्वारी दिने तयारी थालेको छन्। पुनः सभापतिमा उठ्ने भन्दै देउवाले आफूनिकटका केन्द्रीय सदस्यसँगको भेटघाटलाई तीब्र बनाएका हुन्। आफूनिकटका केन्द्रीय सदस्यहरुलाई गोप्यरुपमा बोलाएर देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका हुन्।

यसै सन्दर्भमा आज सभापति देउवाले बागमती प्रदेशका केन्द्रीय सदस्यसँग भेटघाट गर्दै छन्। बैठक गोप्य रहेको जानकारी गराउँदै देउवानिकट केन्द्रीय सदस्यलाई कसैलाई थाहा नदिइ आउन भनिएको छ। बागमती प्रदेशका एक केन्द्रीय सदस्यले सभापतिले बोलाएको बताए। ‘सभापतिले बोलाउनु भएको छ,’ उनले भने, ‘कुन विषयमा छलफल बारे केही भनिएको छैन।’



यसअघि सभापति देउवाले प्रदेश १ तथा प्रदेश २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। शनिबार देउवानिवास बूढानीलकण्ठमा बसेको बैठकमा दर्जनभन्दा बढी केन्द्रीय सदस्य सहभागी भएको बताइएको छ। छलफलमा सहभागीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए।

तर शनिबार नै संस्थापन पक्षका नेता बिमलेन्द्र निधिसँग भएको भेटमा भने सौहार्दपूर्ण कुराकानी हुन नसकेको बताइन्छ । निधिले सभापति बन्न आफूलाई समर्थन गर्न आग्रह गरेपछि देउवा रुष्ठ भएको बताइन्छ । संस्थापन पक्षबाट देउवा र निधि दुई जना आकांक्षी भएपछि कांग्रेस महाधिवेशन थप रोचक बन्दैछ ।

सम्बन्धित समाचार