नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असार ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पनि पूरा भएको बताएका छन्।
राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी रहेको र त्यो काम बिहीबार प्रचण्डले पूरा गरेको नेता पोखरेलको टिप्पणी छ। बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उति बेलाका राजा नै ठीक’ भनेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको बताउँदै भनेका थिए, ‘कमसेकम राजाको सान त थियो।’ प्रचण्डको यो अभिव्यक्तिप्रति लक्षित हुँदै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ। राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रह्यो र?’
