नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असार ।
साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे ।
तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।
पेनाल्टीमा जानु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए । उनले स्टेभन जुबरको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरे । खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए ।
लगत्तै ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । एमबाप्पेको पासमा उनले सहजै गोल गरे । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता बनायो । उनले एन्टोनियो ग्रीजम्यानको पासमा हेड मार्फत गोल गरे ।
खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । र, खेल अतिरिक्त समयमा गएको थियो । शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गरे ।
यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ । विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ । स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।
अब स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ । यस अघि फ्रान्स समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।
क्रोएसियालाई हराउँदै स्पेन क्वाटरफाइनलमा
तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे । क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए ।
युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन् । यस्तै जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका हुन् ।
खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् । डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो । खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे ।
८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए । मारियो ७९ औं मिनेटमा निकोलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो । खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरे । त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए ।
यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ । अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ । स्पेनले समूह ‘ई’बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।