पेनाल्टी मिस गरेपछि एम्बाप्पेले दिए यस्तो प्रतिक्रिया

स्विट्जरल्यान्डविरुद्धको पेनाल्टीमा गोल गर्न नसकेपछि फ्रान्सले हार बेहोरेकोमा फरवार्ड केलियन एम्बाप्पेले माफी मागेका छन्। सोमबार राति रोमानियाको बुखारेस्टमा सम्पन्न खेलको निर्धारित समय ३–३ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतर्फ अघि बढेको थियो। तर थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन। यसकारण खेलको नजिता टाइब्रेकरबाट लिइएको थियो।

रेफ्रीले प्रदान गरेको पेनाल्टीको १० अवसरमा केलियन एम्बाप्पेबाहेकका ९ खेलाडीले नै प्रहारलाई गोलमा परिणत गरेका थिए। एम्बाप्पेले प्रहार गरेको बल भने स्विट्जरल्यान्डका गोलकिपर यान सोमरले रोकेपछि फ्रान्स ५–४ गोलको हारसँगै जारी युरोकपबाट बाहिरिएको थियो।



आफ्नो कारणले टिम हारेको भन्दै एम्बाप्पेले माफी मागेका छन्। उनले इन्स्टाग्राममा लेखेका छन्, ‘यो हारबाट बाहिर निस्कन निकै मुस्किल पर्नेछ। हामीले लक्ष्य पूरा गर्न नसकेपछि धेरै दुःख लागेको छ। म त्यो पनाल्टी सुटबाट निकै दुःखी छु। म टिमलाई सहयोग गर्न चाहन्थेँ। आजको राति निकै पीडादायी हुनेछ। तर खेलको आरोहअवरोहको एक पक्ष यो पनि हो, जसलाई म मन पराउँछु।’

उनले खेल जित्ने स्विट्जरल्यान्डलाई बधाई पनि दिएका छन्।

सम्बन्धित समाचार