नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।

नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेता पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । ओली पक्षीय स्थायी कमिटी बैठक बस्नु अघि गुरुङ, नेता नेपालको निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच झण्डै चार घण्टा कुराकानी भएको थियो । ‘पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्ने विषयमा विचार आदान प्रदान भयो,’ नेता नेपाल निकट स्रोतले भन्यो ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका गुरुङले हालै मात्र नेता नेपाललाई अर्को अध्यक्ष बनाएर भएपनि पार्टी एकता जोगाउनु पर्ने धारणा राखेका थिए । हिजोको भेटमा पनि गुरुङले एकता जोगाउन दुई अध्यक्ष सिस्टमबाट पार्टी सञ्चालनको प्रस्ताव राखेका थिए ।
यता बालुवाटारमा बसेको बसेको स्थायी कमिटी बैठकले जेठ २ मा फर्किने निर्णय गरेको छ । आज बस्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताका लागि थप निर्णय गर्ने नेताहरुले बताएका छन् ।
आजको बैठक एमाले एकताको निम्ति महत्वपूर्ण निर्णय लिने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि बताएका छन् ।
