नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा जान सकारात्मक देखिएका छन् । आजका लागि बोलाइएको बैठकमा जाने–नजाने टुंगो भने लागि नसकेको उनको सचिवालयले जानकारी दियो । सचिवालयले नेता गौतम बैठकमा जाने सम्भावना धेरै रहेको जनाएको छ ।
‘जेठ २ गतेको कमिटीको बैठक बोलाइए जाने कुरा हो । ओली पक्षले जेठ २ गतेकै कमिटी पनि भनिरहेको छ । जाने नजाने टुंगो त लागिरहेको छैन । तर, जाने सम्भावना बढेको छ,’ उनको सचिवालयले भन्यो ।
तत्कालीन प्रतिनिधिसभा विघटनपछि एमाले ओली र खनाल–नेपाल समूह गुटमा विभाजन हुँदा तटस्थ बसेका गौतमले पार्टी एकताको अभियान पनि चलाएका थिए । तर, खनाल–नेपाल समूहले एमाले फुटाए आफू उनीहरुले गठन गरेको नयाँ पार्टीमा आउने अभिव्यक्ति दिएका थिए । यद्यपि उनी दुबै गुटका बैठकमा भने सहभागी भएनन् । दुबै पक्षले उनलाई आफ्नो समूहमा तान्ने हरप्रयास गरेका थिए ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक खनाल–नेपाल समूहले भने बहिस्कार गर्ने निर्णय गरिसकेको छ । यद्यपि बैठकको पूर्व सन्ध्यामा अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच भेटर्वाताको सम्भावना रहेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
